काठमाडौं —प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताउनुभएको छ । प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा आज शनिबार सभापति देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्यले भन्नुभयो, ‘१४ औं महाधिवेशनमा म आफूलाई फेरि सभापतिको उम्मेदवार बनाउँदैछु । म फेरि सभापतिमा उठ्नुपर्ने परिस्थिति बन्यो ।’‘मुलुकको सङ्कटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ । ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुन्छ भन्ने मैले महसुस गरेँ ।’

पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्र गरी १५ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो । पार्टीको विधानले पनि दुई कार्यकाल सभापति हुन पाउने व्यवस्था गरेको देउवाले स्मरण गराउनुभयो । बिहीबार र शुक्रबार दुवै दिन बसेको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ १६–१९ महाधिवेशनको कार्यतालिका पारित भएपछि देउवा आन्तरिक छलफलमा जुट्नुभएको हो ।

देउवाले १३ औं महाधिवेशनपछि काँग्रेसमा आएका विजयकुमार गच्छदार र सुनील थापा समूहको समस्याबारे पनि चासो राख्नुभएको बुझिएको छ । केन्द्रीय सदस्यहरुसँग देउवाले जिल्ला–जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो । ‘अब अधिवेशन गर्नुको विकल्प छैन । संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो ।

सात प्रदेशको अवस्था बुझ्ने रणनीति

देउवाले अब आफू महाधिवेशनको मैदानमा उत्रिएको सन्देश दिने गरी छलफललाई अगाडि बढाउनुभएको छ । उहाँले एक दिनमा दुई वटा प्रदेशमा आफू निकट नेतासँग आन्तरिक छलफलको नीति लिनुभएको छ । शनिबार बिहानको छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदम्बे, डा. डीला संग्रौला, मीन विश्वकर्मा, सीता गुरुङल, बाबुराम बस्नेत, सुजाता परियारलगायतका सहभागी हुनुहुन्थ्यो ।

उपत्यका बाहिर भएकाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, अमृत आर्याल, लक्ष्मी परियार छलफलमा सहभागी थिएनन् । उहाहरुसँगको छलफलपछि देउवाले अहिले प्रदेश २ का केन्द्रीय सदस्यसँग पनि छलफल गरिरहेका छन् । सभापतिमा आकांक्षा देखाएका उपसभापति विमलेन्द्र निधिसित पनि देउवाको छलफल भएको छ ।

गत वर्ष साउन २९ गते देउवा निवासमा पुगेर निधिले सभापतिमा आफ्नो दाबी रहने भन्दै सहयोग मागेको भएता पनि देउवाले १४ औं महाधिवेशनमा एकपटक आफूलाई सहयोग गर्न भन्नुभएको थियो । त्यसयता देउवा र निधिबीच महाधिवेशनको उम्मेदवारीबारे शनिबार पहिलोपटक छलफल हुँदैछ ।

प्रदेश १ का नेताहरुले १३ औं महाधिवेशनका सघाएका निधि लगायतका नेताहरुलाई साथमै लिएर जान देउवालाई सुझाएका थिए । १३ औं महाधिवेशनको टिमबाट अर्को उम्मेदवार हुन नदिने वातावरण बनाउन उहाँहरुको सुझाव थियो । त्यो सुझाव लगत्तै देउवाले निधिसँग छलफल गर्नुभएको हो । यसैगरी, आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल देउवाको गर्ने तयारी छ । सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम रहेको देउवा सचिवालयले जनाएको छ ।