भारतका प्रशिद्ध एथ्लेट मिल्खा सिंहको कोरोना भाइरस सङ्क्रमणको कारण निधन भएको छ । उनको चण्डीगढस्थित अस्पतालमा शुक्रबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ९१ वर्षीय मिल्खालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि चण्डीगढ स्थित पीजीआईएमईआर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवक्ता अशोक कुमारका अनुसार उपचारकै क्रममा मिल्खाको निधन राति साढे ११ बजे भएको हो । पाँच दिन अघि उनकी श्रीमती निर्मल मिल्खा सिंहको पनि कोरोना भाइरसको सङक्रमणका कारण निधन भएको थियो ।


उनलाई मे २० मा संक्रमण पुष्टि भएको थियो र जुन ३ मा आइसियूमा भर्ना गरिएको थियो । जुन १३ मा उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो तर कोभिड–१९ सम्बन्धी समस्याकै कारण उनलाई फेरि आइसियूमा राख्नु परेको थियो ।

फ्लाइङ्ग सिखका नामले विश्वविख्यात रहेका मिल्खा ४०० मिटरको दौडमा एसियालीसँगै कमनवेल्थमा पनि स्वर्णपदक जित्ने पहिलो र एक मात्र भारतीय हुन् । सन् १९५८ मा भएको एसियाली खेलामा उनले २०० र ४०० मिटर दौडमा स्वर्ण पदक जितेका मिल्खाले सन् १९६२ को जकार्ता एसियाली खेलमा ४०० मिटर र चार गुण ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

सन् १९५८ मा भएको कार्डिफ कमवेल्थ गेममा मिल्खाले ४४० गग दौडमा स्वर्ण पदक जिते । तर उनले सबैभन्दा बढि ख्याती सन् १९६० को रोम ओलम्पिकमा कमाए । यो प्रतियोगितामा उनी ४०० मिटरको दौडमा कास्य पदकबाट निकै झिनो अन्तरले चुकेका थिए । उनले ४०० मिटर दौड ४५.७३ सेकेण्डमा पूरा गरेका थिए, उनी जर्मनीका कार्ल कूफम्यानभन्दा एक सेकेण्डको सय भागको एक अंशबाट पछि परेका थिए ।