काठमाडौं –आज मुलुकभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । अहिले देशभर बदली रही प्रदेश १ र सुदूरपश्चिमलगायतका प्रदेशका केही स्थानमा पानी परिरहेको छ । आगामी २४ घण्टामा अधिकांश स्थानमा वर्षा हुने तथा प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती प्रदेशको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भीषण वर्षा र एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण र एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै‚ राति पनि देशभर मौसम बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ ।