काठमाडौं – दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई पनि वितरण गर्न थालिएको छ । दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्स सरह सुविधा पाउने भएका छन् ।

शुक्रबार राष्ट्रिय दुग्ध विकास बोर्डले काभ्रेको हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरलाई यस्तो लोगो प्रदान गरेर निजी क्षेत्रमा वितरण आरम्भ गरेको हो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सेन्टरलाई लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले जानकारी दिनुभयो । उहाँले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुगेकालाई वितरण सुरु गरिएको बताउनुभयो ।

बुधबार मात्रै बोर्डले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । पहिलो चरणमासंस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको र प्रक्रियासहित निवेदन आएपछि थप निजी क्षेत्रका डेरी उद्योगहरुलाई लागो हस्तान्तरण गर्दै जाने योजना रहेको बोर्डले जनाएको छ ।

कार्यकारी निर्देशक यादवले लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न सहज हुने बताउनुभयो ।