काठमाडौं – माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल गरेलगत्तै माओवादी नेताहरु निर्वाचन आयोग पुग्नुभएको हो । एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।

माओवादी नेताहरुले स्थानीय तहमा आफ्नो पार्टी छोडेकाहरूलाई दल त्याग गरेको सूचना प्रकाशित गर्न आयोगलाई ध्यानाकर्षण गराउन आयोग गएका हुन् भने एमाले नेताहरु आगामी निर्वाचनका सम्बन्धमा बुझ्न आयोग पुगेका हुन् ।

माओवादी छाडेर एमाले बनेका पूर्वमन्त्री समेत रहेका टोपबहादुर रायमाझी र प्रभु शाह निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका हुन् । उनीहरु आयोगबाट निस्के लगत्तै माओवादी केन्द्रका नेता लीलामणि पोखरेल र दिनानाथ शर्मा लगायतको टोली पनि पनि निर्वाचन आयोग पुगेर आयोग पदाधिकारीसँग छलफल गरेका छन् ।

‘स्थानीय तहमा पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेको छ । त्यो पत्र हामीले आयोगमा बुझाएका छौँ तर आयोगले दल त्याग गरेको सुचना प्रकाशित गरेन । सोही विषयमा कुराकानी गर्न आयोग गएका हौ’, आयोग पुगेका माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

आयोगले सुचना जारी नगरेसम्म पद खाली हुदैन । माओवादी केन्द्रबाट स्थानीय निर्वाचन जितेका मेयर उपमेयर र वडाध्यक्ष गरी १ हजार ७ सय १८ जना रहेको पोखरेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नेताहरूसँगको कुराकानीमा आयोगका पदाधिकारीहरुले आयोगको निर्वाचन नियमावलीमा केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ भनिएकाले सोही अनुसार गर्न सुझाव दिएका छन् । तर माओवादी केन्द्रले त्यसको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएकाले सोही अनुसार गर्न माग गरिएको थियो ।

एमाले र माओवादीका नेता आयोगबाट निस्केको केही बेरमै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा पुग्नु भएको छ । महन्थ ठाकुर पक्षलाई गरेको कारवाही अनुमोदन नगरेकोमा यादव पक्ष आयोगसँग चिढिएको छ ।