काठमाडौं – वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले उहाँलाई शुक्रबार चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्डुल गर्न सक्नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ ।’

यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उहाँलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।