काठमाडौं– आयरल्याण्ड सरकारले नेपाललाई विविध स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेको छ । युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत् प्रदान गरिएका ती सामग्री नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेपरेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गर्नु भयो । आज हस्तान्तरण गरिएका ती सामग्रीमा ७२ अक्सिजन कन्सन्ट्रेटर, ४४ थान भ्यान्टिलेटर, १२ थान बिटिएपी मेसिन, ४०० अक्सिमिटरलगायत उपकरण छन् ।

यसैगरी डेनमार्क सरकारले पनि सोही संयन्त्रमार्फत् प्रदान गरेका स्वास्थ्य उपकरण शनिबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । डेनमार्कले २६ थान भेन्टिलेटरसहित अन्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । त्यस अवसरमा मन्त्री तामाङले महामारीविरुद्ध लड्न समयमै स्वास्थ्य सामग्री उपलब्ध गराएकामा नेपाल सरकारका तर्फबाट दुवै देशका जनता र सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभएको उक्त मन्त्रालयले जनाएको छ । रासस