काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन प्रविधिको प्रयोग गरेरै भएपनि सम्पन्न गरिने बताउनुभएको छ । प्रवक्ता शर्माले भौतिक र भर्चुअल पद्धतिको फ्युजन गरेर महाधिवेशन गर्ने तयारीमा पार्टी रहेको जानकारी दिनुभएको हो ।

नेपाली काङ्ग्रेसले आज बिहीबार झापामा आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले वडादेखि जिल्लासम्मको भौतिक र प्रदेश तथा केन्द्रको अधिवेशन प्रविधिको प्रयोग गरेर गर्न सकिने बताउनुभयो । गृहजिल्ला झापामा रहनुभएका प्रवक्ता शर्माले काठमाडौं फर्किएपछि यो विषयमा केन्द्रीय नेतासँग थप छलफल गरेर निष्कर्षमा पुगिने जानकारी दिनुभएको छ ।

जिल्लाका नेता तथा कार्यकर्ताले समयमा नै महाधिवेशन हुन नसक्ने चिन्ता ब्यक्त गरेपछि प्रवक्ता शर्माले नेपाली काङ्ग्रेस संवैधानिक बाध्यताबाट पछि नहटी राजनीतिक जिम्मेवारी पूरा गर्नेमा दृढ रहेको र हर हालतमा पार्टीको महाधिवेशन हुने बताउनुभयो । प्रवक्ता शर्माले पार्टीलाई आधुनिक बनाउन र प्रविधिगत रूपमा रुपान्तरण गर्न प्रविधिको प्रयोग गरेर महाधिवेशन गरिने उल्लेख गर्नुभएको छ । उहाँले प्रविधिमार्फत पार्टीको तथ्याङ्क राख्ने कुरामा नेपाली काङ्ग्रेस अरु पार्टीभन्दा अब्बल र अगाडि रहेको दाबी गर्नुभयो ।