काठमाडौं – नेपाली काङ्ग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काङ्ग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो ।

यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । नेपाली काङ्ग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएपछि तल्ला तहको अधिवेशनका लागि जुटेको हो ।

महाधिवेशन गर्नका लागि काङ्ग्रेसभित्र क्रियाशील सदस्यता विवाद टुङ्गो लगाउन चुनौती रहेको छ । तर, क्रियाशील सदस्यता विवाद मिलाउन असार २० गतेभित्रको समय दिइएको छ । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समयमै टुङ्ग्याइने बताउनुभएको छ । उहाँले छानबिन समितिका कारण महाधिवेशन नरोकिने र कुनै पनि हालतमा प्रभावित हुन नदिने बताउनुभयो ।