काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको भन्दै त्यसको प्रतिवादमा उत्रिनका लागि निर्देशन दिनुभएको हो ।

विरोधीहरु आक्रमक ढङ्गले प्रस्तुत भएको भन्दै उहाँले सरकारको कामको प्रचारप्रसार गर्न र विरोधीको खण्डन गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीका अनुसार, ‘हरेक मन्त्रीहरुलाई सरकारको कामको प्रचार गर्न र विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरुको डिफेन्ड गर्न अनुरोध छ ।’

प्रधानमन्त्री ओलीले यत्रो समय कटाएको भएपनि सरकार ढाल्न नसकेर अदालतको साहरा लिन पुगेको टिप्पणी पनि गर्नुभयो । उहाँले यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो तराई डुबानमा नपर्ने पनि बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा लगाएको बाँध पहिले खुल्ला नछोडिने गरेका कारण डुबान भएको भन्दै उहाँले यसवर्ष बाँधलाई खोलिएको बताउनुभयो । अन्य विभिन्न ठाउँमा पनि बाँध खोलिदै जाने बताउनुभयो ।

बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने विषयमा सर्वे गर्न संयुक्त टोली आवश्यक रहेको र त्यसनिम्ति काम गर्न पनि प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । उहाँले, ‘जुन डुबान क्षेत्रहरु हो त्यहाँ हामीले अलिकति खोलेका छौँ । अरु ठाउँहरुमा पनि खोल्दै जानु आवश्यक छ । यसका निम्ति संयुक्त टोलीले सर्वे गर्ने, संयुक्त टोलीले निर्णय गर्ने र संयुक्त टोलीलाई खटाउनुपर्ने यही बेला हो । सीमावर्ती क्षेत्रका बाँध, जसबाट नेपालको भूमि डुबानमा परेको छ त्यो कुरा संयुक्त टोलीले हेर्ने विषयतर्फ कार्य गर्न सक्छौँ ।’

प्रधानमन्त्री ओलीले सरकारले चुरे दोहन गर्न नखोजेको र सरकार चुरेको संरक्षणका लागि ठोस योजनाका साथ लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले, ‘हामीले चुरे दोहन नहोस् भन्नका लागि बजेटमा चुरे दोहन नगर्ने, चुरेको दोहनलाई रोक्ने, त्यहाँबाट ढुंगा, बालुवा, गिट्टी आदी निकाल्ने काम रोक्ने, खानि पत्ता लगाउने त्यो खानी उपयुक्त छ की छैन वातावरणीय सर्वे गर्ने, वातावरण अनुकूल हुन्छ कि हुँदैन वातावरणीय सर्वे गरेर अनिमात्रै खानिबाट गिट्टी बालुवा निकाल्ने । अब बढी भयो भनेदेखि त हामीले विक्रि पनि गरेर व्यापार पनि गर्न सक्छौँ त्यसमा भन्ने कुरा हो । त्यो कुनै अनौठो कुरा होइन। हामीले चुरेको संरक्षण गर्न खोजेको । हामी चुरे विनास होइन चुरेको संरक्षण गर्न लागि प्रयासमा छौँ । चुरेको संरक्षण गरिन्छ। ठोस योजनाका साथ हामी लाग्या छौँ ।’उहाँले अहिले नयाँ बाटो बनाउने काम जोखिमयुक्त भएकाले भदौसम्म नयाँ बाटो खन्ने तथा पहाडहरु भत्काउने काम रोक्नुपर्ने पनि बताउनुभयो ।