काठमाडौं – सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी दिनुभयो ।

त्यस्तै सेवाग्राहीले चाहेको खण्डमा ऐच्छिक रूपमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नसक्ने उहाँले बताउनुभयो । यसको लागि नम्बर प्लेट छाप्ने जिम्मेवारी पाएको डेकाटुर टाइगर कम्पनीले पनि आवश्यकताअनुसार प्लेट छाप्नसक्ने महानिर्देशकले जानकारी दिनसभयो ।

‘साउनदेखि सेवाग्राहीले विभागमा फारम भरेपछि बल्ल दर्ता र नवीकरण गर्न पाउँछन् । सेवाग्राहीले प्रदेश कार्यालयमा गएर नम्बर प्लेट फिट गर्न सक्छन, उहाँका अनुसार, ‘नम्बर प्लेट फिट गर्ने र डाटा इन्ट्री गर्ने जनशक्ति पनि कार्यालयहरूलाई हामी नै व्यवस्था गर्दिन्छौँ । कार्यालयले भेरिफिकेसन मात्र गर्ने हो ।’

सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट राख्नलाई केही महँगो भने पर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडान गरेको दुई पाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय, तीन पाङ्ग्रे सवारीलाई २ हजार ९ सय, चार पाङ्ग्रे सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई ३ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने विभागले जनाएको छ ।