काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु भएको छ । बैठकमा निर्वाचन आयोगविरुद्ध अदालत जाने विषयमा निर्णय हुने कार्यकारिणी समितिका एक सदस्यले बताएका छन् ।

जसपा भित्रको विवाद उत्कर्समा पुगेको बेला कार्यकारिणी समितिको बहुमतले महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेतालाई गरिएको कारवाही गरेको थियो । उक्त कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि अध्यक्ष उपेन्द्र यादवले आयोगविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने यसअघि नै बताएका छन् ।

आजको बैठकले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुनेछ । ठाकुर–महतो पक्ष सरकारमा सहभागि भएसँगै जसपाका ११ जना मन्त्री बनेका छन् । यस्तै ठाकुर महतो पक्षले निर्वाचन आयोगलाई आफूहरुले कुनै बैठक नबोलाएको जानकारी गराएको छ । निर्वाचन आयोग सरकारको लाचार छाँया भएको र स्वतन्त्र ढङ्गले काम गर्न नसकेको जसपा उपेन्द्र यादव पक्षको भनाइ छ ।