काठमाडौं – सीसीएमसीले नेपाली कामदारहरु रहेका देशहरुमा नियमित उडान सुरु गर्ने निर्णय भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने निर्णय गरेको छ । हप्तामा दुई हजार मानिस नेपाल ल्याइने र त्यसमा १५ सय जना नेपाली कामदार हुनै पर्ने व्यवस्थासहित उडान अनुमतिको निर्णय भएको शर्माले जानकारी दिए ।

सीसीएमसीका अनुसार यी देशबाट नेपाली कामदारलाई प्राथमिकतामा राखेर ल्याइने छ । रोजगारीका लागि जान चाहनेहरु जाने र त्यहाँबाट आउन चाहने नेपाली कामदारहरुलाई प्राथमिकताका साथ ल्याउन हवाई सेवा सुरुगर्न लागिएको हो । आफ्नो खर्चमा आउन नसकेर समस्यामा परेका नेपाली कामदारलाई राज्यको खर्चमा ल्याउने निर्णय गरेको छ ।

कामदारको चाप अनुसार कुन देशमा हप्तामा कति उडान गर्ने भन्ने बारेमा निर्णय भने पछि हुने सीसीएमसीले बताए । सीसीएमसीले वैदेशिक रोजगारीमा जाने र उताबाट आउन चाहने नेपालीलाई ध्यानमा राख्दै हवाई उडान खुला गर्ने निर्णय हो । हाल कतारका लागि सातामा दुईवटा हवाई उडान भइरहेका छन् । यस्तै टर्कीमा हप्ताको एउटा उडान हुने गरेको छ । चीनसँग पनि सातामा एउटा उडान गर्ने निर्णय भएपनि सुचारु हुन सकेको छैन । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा वैशाख २३ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो ।