काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएका सभामुख अग्निप्रसाद सापकोटाले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गर्नुभएको हो ।

निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुनःनिर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो । झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उहाँले तिनको पुनःनिर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख सापकोटाले आफू काठमाडौं फर्किएर यसबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गर्नुभएको छ । निरीक्षणका क्रममा सभामुख सापकोटाका साथ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलाल पनि सामेल हुनुभएको थियो ।