काठमाडौं – केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नु भएको छ ।

उहाँले मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको आरोप पनि लगाउनु भयो । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि प्रचण्डले सरकारसँग माग गर्नुभएको छ । यो महाविपद्का बेला राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।

प्रचण्डले भन्नुभयो– ‘यस महाविपद्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु’, । बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।