काठमाडौं – सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बीमा गर्ने भएको छ । बुधबार बिहान गृहमन्त्री नेतृत्वका विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरो प्रभावित क्षेत्रका सरकारी र निजी घरहरुको बिमा गर्ने निर्णय भएको समितिका सचिव एवं सह प्रवक्त वेदनिधि खनालले जानकारी दिनुभयो ।


त्यस्तै बैठकले द्रुत लेखाजोखा गाइड लाइन संशोधन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि वित्तीय व्यवस्थापनको रणनीतिको प्रक्रिया अगाडि बढाउने र सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्य योजनालाई प्रभावकारी बनाउने निर्णय भएको छ ।


उहाँका अनुसार कार्य योजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायत संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपद् प्रतिकार्य योजनालाई बैठकले पारित गरेको छ । मेलम्ची र मनाङलगायतका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समेत बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।


मेलम्चीमा प्रमुख जिल्ला अधिकारीलगायतका सबै सुरक्षा निकायहरुलाई आफ्नो सामथ्यले भ्याएसम्म प्रयासहरु गर्ने र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न निर्देशन दिइएको छ । त्यस्तै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ठूलो ढुंगाले करिब ४७ घरलाई जोखिम पुगेको छ भने त्यस क्षेत्रलाई व्यवस्थापन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।


बाढी प्रभावित क्षेत्र मनाङमा पनि सामग्रीहरु लैजानेलगायतको छलफल भएको छ । यस विषयमा गृह मन्त्रीले निर्देशन दिइसक्नुभएको छ । बाढी प्रभावित क्षेत्रहरुा खाद्य सामग्री, टेन्टलगायतका अति आवश्यक सामग्रीको तुरुन्त व्यवस्था गर्न र जोखिममा परेका नागरिकलाई तत्काल उद्धार गरि सुरक्षित स्थानमा स्थान्तारण गर्ने निर्णय बैठकले गरेको छ ।