काठमाडौं – थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गर्नुभएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गर्नुभएको थियो । ‘‘पार्टी मिलाउनुस् कमरेड…’’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । स्वास्थ्यमा गम्भीर समस्या भइ हाल नर्भिक अस्पतालमा उपचाररत खनालले थप उपचारका लागि भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गर्नु भएको हो ।

‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु’, खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट, फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु ।’

उहाँले देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्प तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै अहिले एमालेसम्म परेका बताउनु भएको छ ।

‘राष्ट्रिय एकता अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु’, खनालले विज्ञप्तिमा भन्नुभएको छ ।

एमाले सयौँ सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको स्मरण गर्दै नेता खनालले जनताको चाहना र अपेक्षा विपरित पार्टी अघि बढिरहेकाले सच्चिन जरुरी रहेको बताउनुभयो ।

उहाँले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू आज केहि दिनका लागि देश बाहिर जान लागेको पनि बताउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरु माझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।’