काठमाडौं – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ स्वीकृत गरेको छ ।

समितिको गृहमन्त्रालयमा बसेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि ,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ ,गैर सरकारी संस्था परिचालन सम्वन्धि कार्यविधि ,२०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनःनिर्माण सम्वन्धि कार्यविधि २०७८ लाई स्वीकृत गरेको हो ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका वडा नम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ । बैठकमा गृहमन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धार खटिन मातहतका निकायलाई निर्देशन दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ भने मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षतिहरु भएका विवरणहरू आइरहेका छन् । बैठकमा सुरक्षानिकायले बाढी पहिरो डुबानको पछिल्लो अवस्थाको बारेमा विपद व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ्ग गरेको थियो ।