काठमाडौं – नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घबीच भएको वार्तामा ट्याङ्कर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ सङ्घका अध्यक्ष ईश्वर लामाले बताउनुभयो ।

अध्यक्ष लामाका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्याङ्कर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । सहमतिअनुसार थानकोट डिपो र त्यहाँबाट प्रदेशभरि तेल ढुवानी गर्ने ९०० जना चालक तथा सहचालकले कोरोना खोप पाउनेछन् ।

कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्याङ्करका चालकहरुको आन्दोलन फिर्ता भएको छ । आन्दोलित ट्याङ्कर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।