काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीमा आफ्नो पक्षको बहुमत देखाउनका लागि कार्यकारिणी समिति विस्तार गरेपछि उहाँ पक्षकै नेता तथा कार्यकर्ताले असन्तुष्टि पोखेका छन् । जसपामा उपेन्द्र यादव पक्ष र ठाकुर पक्षबीच चर्को विवाद रहेको बेला ठाकुर समूहमै पनि कार्यकारिणी समिति विस्तारको विषयमा असन्तुष्टि देखिएको हो ।

जसपाका अध्यक्ष ठाकुरले जेठ ३० गते शीर्ष नेताहरुको बैठकबाट कार्यकारिणी समितिमा १६ जनाको नाम थप्नुभएको थियो । त्यसमा अध्यक्ष ठाकुरले आफ्नो पक्षबाट मात्र १० जनाको नाम राख्नु भएको छ भने राजेन्द्र महतो पक्षबाट ६ जनाको नाम राखिएको छ । तर, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवको पक्षबाट कसैको नाम नसमेटिएपछि असन्तुष्टि देखिएको हो ।

जसपा नेपालका केन्द्रीय सदस्य सीपी सिंहले कार्यकारिणी समिति विस्तार गरेर पार्टीमा झन् विवाद बढाउने काम ठाकुरले गरेको प्रतिक्रिया दिनुभयो । पार्टी एकताका लागि विवाद चलिरहकै बेला ठाकुरले एकतर्फी रुपमा कार्यकारिणी समिति विस्तार गर्नु राम्रो कार्य नभएको उहाँको भनाइ छ । ‘पार्टीमा कुनै पनि निर्णय सर्वसहमतिले गराउँदा राम्रो हुन्छ, एकदुई जना बसेर गरेको निर्णय विवादास्पद हुन्छ’, । ‘कसैलाई काखा कसैलाई पाखा गरेर पार्टी चल्दैन ।’

उहाँले गुटबन्दीका कारण नै यसअघि राजपा चल्न नसकेको स्मरण गर्दै अहिले जसपामा पनि यही रोग सुरु भएको बताउनुभयो । जसपा नेपालका केन्द्रीय सदस्य सीपी सिंहले एकता जोगाउनका लागि गुटबन्दी अन्त्य हुनुपर्नेमा समेत जोड दिनुभयो । सिंह राजपा नेपालमा महासचिव हुनुहुन्थ्यो । उहाँलाई जसपामा महन्थ ठाकुर पक्षका नेता मानिन्छ ।