काठमाडौं – चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ जना पूर्व उपकुलपतिहरुले सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, महेश्वरमान श्रेष्ठ, जयराज अवस्थी, कमलकृष्ण जोशी, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सुरक्षा गर्न सरकारसँग माग गरेका हुन् ।

‘डा. श्रीकृष्ण गिरीलाई सुरक्षा प्रदान गर्न र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न र यी संस्थाहरुलाई आफ्ना निकायहरुमार्फत विधि अनुरुप काम गर्न दिन हामी पूर्वउपकुलपतिहरु सरकारसँग जोडदार माग गर्दछौँ,’ उनीहरुले भनेका छन् । कानुनी शासनको उपेक्षा गरेर झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनु दुर्भाग्यपूर्ण उनीहरुले बताएका छन् ।

‘काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने कलेजको संख्याको सीमा नाघेर पूर्वाधार नै नपुगेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन र त्यसमा चिकित्सा शिक्षा आयोगको स्वीकृति दिलाउन विधिको शासन र एवं कानुनी राज्यको उपेक्षा गर्नुमा अलिकति पनि नहिच्किचाउनु ठूलो दुर्भाग्यको कुरा हो,’ विज्ञप्तिमा उल्लेख छ ।

आयोगका उपाध्यक्ष डा. गिरीलाई धम्की दिइएको समाचार सञ्चारमाध्यममा आइरहेको भन्दै त्यसबाट हुने शारीरिक तथा मानसिक क्षतिको सम्पूर्ण जिम्मेवार वर्तमान सरकार हुने उनीहरुले चेतावनी दिएका छन् ।