काठमाडौं – सामाजिक सञ्जाल ‘फेसबुक, टिकटक र युट्युव’मा अर्काको अश्लिल फोटो र भिडियो बनाएर प्रकाशन र प्रदर्शन गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाडौं–१७ डल्लु बस्ने वर्ष २६ का सानु पोडे र बाग्लुङको बाग्लुङ नगरपालिका–८ घर भएका ५२ वर्षीय रामेन्द्र खड्कालाई पक्राउ गरेको हो ।

सानु पोडेले १६ वर्षीया किशोरीको फेसबुक म्यासेन्जरमा पटक–पटक पीडितको अनुहारमा अपरिचित महिलाको नग्न शरीर जोडेर मोर्फेड गरेको तस्बिर र भिडियो पठाएर हैरानी गरेको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।

रामेन्द्र खड्काले फेसबुक, टिकटक र युट्युव मार्फत ४ जना व्यक्तिको फोटो र भिडियो फोटोसप गरेर अश्लिल बनाइ प्रसारण, प्रकाशन गरेका थिए । उनीहरुमाथि विद्युतीय कारोबार ऐन बिरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले बताउनुभयो ।