कठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण ओरालो लागेकाले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञालाई आजदेखि केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौं उपत्यकाकाको तीन जिल्लाका प्रजिअ सहितको जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।

थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद÷विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने छ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल ) दिउँसो चार बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ । तर सडकमा सवारी चाप बढेको देखिन्छ ।