काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग ‘सरकारको कठपुतली’ बनेको आरोप लगाउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै संवैधानिक आयोगले नै लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ’, श्रेष्ठले भन्नुभयो– ‘जसपाबारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो ।’ उहाँले तत्कालीन नेकपाको जस्तै निर्णय अहिले जसपामा दोहोरिएको भन्दै आयोगको निष्पक्षतामाथि प्रश्न गर्नु भएको छ ।

साथै नेता नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्ने बताउनु भएको छ । ‘लोकतन्त्र पक्षधर सवै मिलेर संवैधानिक अङ्गको यस प्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नुपर्छ’, श्रेष्ठको सुझाव छ ।

‘नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुदैन,हाछ्यु गरेर, बेसार पानी खाएर कोरोना फल्दिउ भनेर संसदमै बोल्ने गैरजिम्मेवार प्रधानमन्त्रीका कारणले हामी नेपालीले दुख मात्रै पाएका छैनौ, लज्जित हुनुपरेको छ । नेपाल अहिले कोरोना सङ्क्रमणको दरमा विश्वमै अगाडि छ । छिटो भ्याक्सिन ल्याइयोस्’, श्रेष्ठको माग छ ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै श्रेष्ठले नेपालीहरुको प्रतिरोध क्षमता उच्च भएकाले कोरोनाले छुँदैन,हाछ्यु गरेर, बेसार पानी खाएर कोरोना फल्दिउ भनेर संसदमै बोल्ने गैरजिम्मेवार प्रधानमन्त्रीका कारणले नेपालीले दुख मात्रै नपाएको भन्दै लज्जित हुनुपरेको समेत बताउनु भएको छ । साथै उहाँले छिटो भ्याक्सिन ल्याउन माग गर्नु भएको छ ।