काठमाडौं– मनसुन सक्रिय भएसँगै देशको मौसममा व्यापक बदली भएको छ । मनसुनी वायुको प्रभावका कारण प्रदेश न.१ र २, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुन सुरुभएका कारण पानी पर्नेक्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज मङ्गलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय भएकोले देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन् ।