काठमाडौं– कोरोना भाइरसका कारण तहस नहस भएको नेपालको शिक्षा क्षेत्र आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । मुलुकभरका एकदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको आजबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन भएको छ भने आजबाट विद्यार्थीको नयाँ भर्ना सुरु गरिंदैछ । यसले विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।

गत वर्षदेखि कोरोना भाइरसको महामारीका कारण नेपालको शिक्षा क्षेत्रमा अन्योलता छाएको थियो । महामारीकै कारण भौतिकरुपमा विद्यार्थीहरु विद्यालयमा उपस्थिति हुन नसक्दा पठनपाठन हुन सकेको थिएन । शैक्षिक सत्र अन्योलपूर्ण अवस्थामा रहेकोले सरकारले आज असार १ गतेदेखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्य सुरु गर्नुपर्ने निर्णय गरेको थियो । अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट विद्यार्थीको कक्षामा अभिलेखीकरण कार्य विद्यालयले गर्नेछन् ।

आगामी पन्ध्र दिन अर्थात् असार १५ गतेसम्म विद्यार्थीहरुको अभिलेखीकरण कार्य पूरा गरेर विद्यालयहरुले विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । सरकारले कोरोना भाइरस सङ्क्रमण सामान्य नभएसम्म वैकल्पिक विधिको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण कार्य जारी रहने जनाएको छ ।