काठमाडौं – सामान्य ज्वरो आएर अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि आज बिहान पौने ८ बजे थापाथलिस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो ।

उहाँलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ । सामान्य अवस्थामा रहनु भएका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमि देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । वरिष्ठ नेता खनाललाई आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पतालले जनाएको छ ।