काठमाडौं –नेपाली काङ्ग्रेसमा क्रियाशील सदस्यता संख्या ८ लाख नाघेको छ । काङ्ग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने बताएको छ ।

सप्तरी, बारा, धनुषा, सिन्धुपाल्चोक, बर्दिया, रूकुम पश्चिम, डडेलधुरा, प्युठान र काभ्रेमा केही काम मात्रै बाँकी रहेकोले यी जिल्लाका पूर्ण विवरण आइसकेको छैन । यी बाहेक अन्य जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम करिब सकिएर विवरण नै सफ्टवेयरमा इन्ट्री भइसकेको छ ।

‘यीमध्ये सप्तरी, बारा र सिन्धुपाल्चोकमा नयाँ वितरण र नवीकरणका काम केही बाँकी छन्,’ केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार– ‘अन्य ठाउँमा करिब काम टुङ्ग्याएका छौं ।’

अहिलेसम्म ८ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसकेको सचिव रिजालले जानकारी दिनुभयो । काङ्ग्रेसले क्रियाशीलबारे चित्त नबुझेमा उजुरी दिन सकिने व्यवस्था गरेकोमा अहिलेसम्म एक हजार दुई सय उजुरी परेका छन् ।

काङ्ग्रेसले क्रियाशीलको नाम पार्टीको वेवसाइटमा राखेको छ । नियमविपरीत कसैले क्रियाशील लिएको भए असार ६ गतेभित्र उजुरी दिइसक्न भनिएको छ ।
यस्तै काङ्ग्रेसले पार्टी महाधिवेशन एक साता सार्ने प्रस्ताव गरेको छ । पदाधिकारीबीच महाधिवेशन पर धकेल्न सहमति भइसकेको भएता पनि केन्द्रीय समितिले यसबारे निर्णय गरिसकेको छैन ।

यसबारे छलफल गर्न काङ्ग्रेसले आगामी बिहीबार केन्द्रीय समिति बैठक राखेको छ ।

भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका भए पनि अब भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव छ ।

कोरोना महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम गर्न नसकिएकोले महाधिवेशन पर धकेल्नु परेको काङ्ग्रेस नेताहरूले बताएका छन् ।

काङ्ग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेकोमा एक महिना पर धकेल्न लागिएको छ । अधिवेशनका लागि मतदाता हुने क्रियाशील सदस्ता नै टुङ्ग्याउन ढिला हुँदा अधिवेशन प्रभावित बनेको छ ।

यस्तो छ महाधिवेशनको प्रस्तावित कार्यतालिकाः

क. गाउँ÷नगर वडा अधिवेशनः २०७८ साउन ६ गते ।

ख. गाउँ÷नगरपालिका अधिवेशनः साउन ११ गते ।

ग. प्रदेश सभा क्षेत्रीय अधिवेशनः साउन १६ गते ।

घ. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २० गते ।

ङ. एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २४ गते ।

च. प्रदेश अधिवेशनः भदौ १ र २ गते ।

छ. केन्द्रीय महाधिवशेनः भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा ।