काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि गरी दुई दिन पुनः कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने जनाएको छ । चिनियाँ सहयोगमा प्राप्त भेरोसिल खोप यही जेठ २५ गतेदेखि ५ दिन लगाउने भनेर सुरु गरेको भएता पनि विचैमा खोप लगाउने अभियान स्थगित गरेको महाननगरपालिकाले आज सोमबार र भोली मङ्गलबार गरी दुई दिन खोप लगाउने व्यवस्था मिलाएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताएका छन् ।

कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप काठमाडौंस्थित वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिविवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा आज जेठ ३१ र भोली असार १ गते खोप लगाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

महानगरका अनुसार खोपको पहिलो मात्रा लगाउन छुटेका ६० देखि ६१ वर्ष उमेरका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने महानगरले जनाएको छ ।