काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ । बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविदले बताएका छन् ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ । आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले बताएका छन् । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यसैबिच हिजो शनिबार दिउँसोदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको मनसुन एक–दुई दिनमा पश्चिम नेपालसम्म नै प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुले अनुसार आउँदो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको रहेको भन्दै आवश्यक सतर्कता अपनाउने समेत आग्रह गरेका छन् ।