काठमाडौं – नेपाली काङग्रेसको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पटक पटक सर्दै आएको महाधिवेशन जसरी पनि गर्नुपर्ने काङ्ग्रेसलाई दवाव थियो । यसअघि भदौ ७ गतेदेखि ११ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको थियो । काङ्ग्रेस भित्रको आन्तरिक किचलो र सक्रिय सदस्यता वितरणको विवादले महाधिवेशनको मिति पटक पटक धकेलिंदै आएको थियो । महाधिवेशनलाई लक्षित गरी आज बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पनि बोलाउने निर्णय गरेको छ ।
उक्त बैठकले आगामी साउन १ गतेदेखि वडा अधिवेशनदेखि सबै तहसम्म अधिवेशन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ । काङ्ग्रेसको वडादेखि केन्द्रसम्म गरी आठ वटा सांगठनिक संरचनाको तह रहेको छ ।