काठमाडौं– एमाले ओली इतर पक्षका नेता मेटमणि चौधरीले बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध कोही नाथुराम गोडसे बन्न तयार नभए आफु नाथुराम बन्न तयार भएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् । हिजो बागमती प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा बोल्ने क्रममा नेपाली कांग्रेस, बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य मुलुकको हित र अस्मितामाथि गम्भीर खेलबाड गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन आफै नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए ।


एमाले खनाल–नेपाल पक्षका नेता चौधरीले वैद्यको अभिव्यक्ति शत प्रतिशत ठिक भएको भन्दै ‘नेता वैद्यको अभिव्यक्तिको म समर्थन गर्छु । उहाँले बोलेको कुरा प्रत्येक नेपाली जनताको मनोविज्ञान बनेको छ । केपी ओली अब सच्चिएनन् भने एउटा, दुइटा मात्रै होइन सयौँ नाथुराम गोडसे जन्मिन सक्छन्’ भनेका छन् । नेता चौधरीले प्रधानमन्त्री ओलीलाई संविधान के हो भन्ने मतलब छैन भन्दै, दुईदुई पटक प्रतिनिधिसभा भङ्ग गर्ने, अध्यादेशमार्फत् देश चलाउन खोज्ने र देशको राज्य प्रणाली खारेज गर्न लागेको आरोप लगाएका छन् । देशमा फेरि अर्को तानाशाह बन्ने सपना बोकेका ओलीले लाखौं गल्ती गर्दा पनि माफी माग्न तयार हुँदैनन् । नरोत्तम वैद्यले व्यक्त गरेका अभिव्यक्ति ठिक भएको नेता चौधरीले बताएका छन् ।

वैद्यको अभिव्यक्तिलाई मध्यनजर गरेर शासकहरुले आफूहरुलाई अनुशासित बनाउनु पर्ने भन्दै एमाले नेता चौधरीले ‘शासकले आफ्नो आनीबानीमा परिवर्तन ल्याउनु प¥यो, अनि मात्रै नाथुराम जन्मिनुपर्छ भन्ने भनाइहरु कमजोर हुन्छ । तर यहाँ आफू सच्चिनु नपर्ने, अरु मात्रै सच्चिनु प¥यो भनेर मात्रै हुन्छ ?’ भनेका छन् । नेता चौधरीले चौतर्फी दबाबमा परेर वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिए पनि उनले बोलेको कुरालाई आफूले समर्थन गर्ने धारणा सार्वजनिक गरेका छन् । वैद्यको अभिव्यक्ति शासकले आफूलाई सुधार्नुको विकल्प नभएको प्रति लक्षित भएको जनाएका छन् ।

हिजो शुक्रबार बागमती प्रदेशसभा बैठकमा बोल्दै वैद्यले ‘प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन् । त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुप¥यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु’ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।