काठमाडौं – नेपालमा यो वर्ष केही छिटो मनसुन सुरुभएको भएको छ । पूर्वी नेपाल हुँदै प्रवेश गरेको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा पानी परिरहेको उक्त महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको छ । देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

आज शनिबार दिउँसो र राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश नं. १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा अधिक पानी पर्ने सम्भावना छ । यसैबिच यो वर्ष मनसुनजन्य विपद (बाढी–पहिरोसहित) बाट १८ लाख बढि मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्ष औसतभन्दा बढि पानी पर्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गतवर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । गतवर्ष १५ लाख भन्दा बढि प्रभावित भएका थिए भने चार सय जनाको मृत्यु भएको थियो । नेपालमा सामान्य त जेठको अन्त्यदेखि असोजको पहिलो सातासम्म पानी पर्ने गर्दछ । तर यो वर्ष औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ ।
आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताएका छन् । उनले भने, ‘यो वर्ष बढि वर्षा हुने आँकलन छ, कोभिड–१९ को महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतिपूर्ण अवस्थाबाट गुज्रिएको छ । यसलाई नै केन्द्रित गरेर पूर्व तयारी र प्रतिकार्य योजना अघि बढाएका छौं ।’

विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यो वर्ष मनसुनमा १८ लाख भन्दा बढि मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुने अनुमान गरिएको हो । एक हजार एक सय भन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यो वर्ष बढि पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरि स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालेको प्राधिकरणले जनाएको छ ।