काठमाडौं – सभामुख अग्नि सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भिर सङ्कटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन् । बैठकपछि जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताउनुभयो ।


‘अहिले लोकतन्त्र धरापमा परेको छ । पटक पटक संसद विघटन भएको छ । यसमा साझा चिन्ता व्यक्त भयो’, डा.भट्टराइले भन्नुभयो–‘कोरोना महामारी चर्किएको छ । खोप व्यवस्थापन हुन सकेको छैन । यो विषयमा पनि हामी सबैको एउटै मत रह्यो ।’ बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुङ्गा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले ठहर गरेका छन् । नेता भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको बताए ।

उहाँले यसरी पटक पटक संसद विघटन गरिनु निरङ्कुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताउनुभयो ।
‘सभामुखलाई लोकतन्त्रको पक्षमा घच्घच्याउनुस्, लोकतन्त्र बचाइ राख्नुस् भनेर हामीले सुझाव दियौँ’, डा.भट्टराइले आफ्नो प्रयास रहने बताउनुभयो ।’

नेता भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताउनुभएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गर्नुभएको हो