काठमाडौं – राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सहित १३ जनालाई पक्राउ गरेको छ ।सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

चितवनमा ज्यान गुमाएकी सबिता भण्डारीमाथि घरेलु हिंसा भएको भन्दै छानविनको माग गरेर सो समूहले प्रदर्शनको तयारी गरिरहेको थियो । वैशाख पहिलो साता सबिताको हत्या आरोपमा पक्राउ परेका उनका ससुरा र श्रीमान धरौटीमा छुटेका छन् । उनीमाथि हिंसा भएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सो घटनाबारे थप छानविन हुनुपर्ने माग भइरहेको छ ।