काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रुष्ट बनेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताउनु भएको छ । उहाँले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताउनुभयो ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिनुभएको छ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्नेे बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । उहाँले सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रित हुने बताउनुभयो ।