काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा भोली शनिबार दिउँसो २ बजेका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाउनु भएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको देउवाको स्वकीय सचिवले जानकारी दिनुभएको हो । देउवा स्वकीय सचिवका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।

यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा नेपाली काङ्ग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काङ्ग्रेस तयारीमा जुटेको छ । काङ्ग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएता पनि अहिलेसम्म कार्यतालिका अनुसार काम भएको छैन । असार ५ गतेबाट वडा तहको अधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यताकै विषय अन्तिम टुङ्गोमा पुग्न सकेको छैन ।

कोरोना महामारी र आन्तरिक विवादले कार्यतालिका अनुसार काम हुन नसकेपनि काङ्ग्रेसलाई अब महाधिवेशन सार्ने र टार्ने सुविधा छैन । नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो । त्यो समयमा पनि महाधिवेशन हुन नसके संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर नेपाली काङ्ग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

२०७२ फागुन १९ गते १३ औँ महाधिवेशन गरेको काङ्ग्रेसका लागि ०७८ भदौ १९ गतेपछि १४ औं महाधिवेशन गर्ने सुविधा छैन । काङ्ग्रेस सभापति देउवाले पनि भदौमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताउनु भएको छ । जेष्ठ २५ गते नै पार्टीको शीर्ष तहका महाधिवेशनबारे छलफल गर्ने देउवाको तयारी भएपनि नेता कृष्णप्रसाद सिटौला गृहजिल्ला झापाबाट नर्फिएकाले रोकिएको थियो । सिटौला फर्किएसँगै देउवाले भोलिलाई बैठक बोलाउनु भएको छ ।