काठमाडौं — गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धन बैठकले सबै प्रदेशमा मिलेर अघि बढ्ने निर्णय लिएको हो । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले प्रदेशमा संयुक्त सरकार बनाउने रणनीति बनाएका छन् ।

गण्डकी प्रदेशमा गुरुङको अल्पमतको सरकार ढलेपछि नयाँ सरकार निर्माणको अन्तिम विकल्प मात्र बाँकी छ । संविधानको धारा १६८ (५) मा प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ । सरकार बन्न नसके प्रदेशसभा विघटन हुने जोखिम भएकाले विपक्षी गठबन्धनले बहुमत जुटाएरै सरकार निर्माणका लागि दाबी प्रस्तुत गर्ने भएको छ ।

विश्वासको प्रस्तावमा बिहीबार भएको मतदानमा भाग नलिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र तटस्थ रहेका जनमोर्चाका सांसद कृष्ण थापालाई मनाउने विपक्षी मोर्चाको तयारी छ । ‘दुईमध्ये एक जनालाई मात्रै ल्याउन सकिए पनि सरकार बन्ने स्थिति रहन्छ,’ गठबन्धनको बैठकपछि काङ्ग्रेसका एक नेताले , ‘भएन भने अरू विकल्प पनि खोज्न सकिने बताउनुभयो ।’

उहाँले बागमती, लुम्बिनी र प्रदेश १ मा समेत मिलेर अघि बढ्ने कुराकानी भएको बताउनुभयो  । बागमती र प्रदेश १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् । नीति तथा कार्यक्रम असफल बनाएर सरकार ढाल्ने रणनीतिमा विपक्षी गठबन्धन पुगेका छन् । प्रदेश २ मा काङ्ग्रेस सरकारमा सहभागी भइसकेको छ । माओवादी केन्द्र पनि सरकारमा जाने तयारीमा छ ।

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र ‘फ्लोर क्रस’ गरेका कर्णालीका एमाले खनाल–नेपाल पक्षका चार सांसद पुनर्बहाली हुने सर्वोच्च अदालतको अन्तरिम आदेशप्रति गठबन्धनका नेताहरूले सन्तोष प्रकट गरेका छन् ।