काठमाडौं – नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।

पदभार ग्रहणपछि गृहमन्त्री अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको हो । मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४सै घण्टा खटिनुपर्ने उल्लेख गर्दै कार्यालय समय भनेर पन्छिन नहुनेमा जोड दिनुभएको थियो ।

परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ । गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न पनि भनिएको छ ।

परिपत्रमा निषेधाज्ञालाई समीक्षा गर्दै आर्थिक कारोबार क्रमशः खुलाउँदै लैजाने गरी अवधारणा ल्याउन भनिएको छ । हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा एवं जनस्वास्थ्यमा नकारात्मक असर नपर्ने गरी र स्वास्थ्य मापदण्ड पालना गर्दै आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारी अघि बढाउने’, गृहको परिपत्रमा उल्लेख छ ।

यस्तै चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन र नियमनलाई पनि कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ । परिपत्रमा सीमा सुरक्षा र व्यवस्थापनलाई पनि कडाइका साथ पालना गर्न भनिएको छ ।