काठमाडौं – यस वर्ष एसईईका लागि भनेर ५१ लाख ७४ हजार सेट प्रश्नपत्र छापिएका थिए । परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत किसन बस्यालका अनुसार ती प्रश्नपत्र छपाइमा भ्याटसहित २ करोड २८ लाख रुपैयाँ खर्च भएको छ । उत्तरपुस्तिका भने प्रदेश सरकारले नै छाप्ने भएकाले त्यसको खर्च विवरण आफूसँग नभएको उहाँले बताउनुभयो । ‘प्रश्नपत्रबाहेकका उत्तरपुस्तिकालगायतका अन्य खर्च प्रदेश सरकारको हो,’ ‘यसबारे हामीलाई जानकारी आएको छैन, अधिकृत बस्यालले भन्नुभयो ।

तर, अहिले ५ लाख ५० हजार विद्यार्थीका लागि छापिएका ५१ लाख ७४ हजार सेट प्रश्नपत्र अलपत्र छन् । कारण, कोरोना महामारीले गर्दा सरकारले आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । र, ती प्रश्नपत्रको व्यवस्थापनबारे बोर्डले कुनै निर्णय गरेको छैन । गत वर्ष भने एसईई स्थगित भएसँगै छापिएका प्रश्नपत्र जलाएर नष्ट गरियो । त्यसैले यसपालि पनि प्रश्नपत्र जलाइने हो कि भन्ने शङ्का गर्छन्, सरोकारवालाहरू । यद्यपि, गतसाल परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पुगिसकेको अवस्था थियो भने यसवर्ष भने पुग्न पाएन ।

परीक्षा नियन्त्रक रुद्र अधिकारी भने राष्ट्रिय परीक्षा बोर्डको निर्देशन नआएकाले प्रश्नपत्रलाई केही नगरेको बताउनुहुन्छ । ‘हामीले बोर्डको आदेश कार्यान्वयन गर्ने मात्र हो, ‘अहिलेसम्म बोर्डले केही नभनेकाले प्रश्नपत्र जस्ताको तस्तै छन् ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भने यसबारे छलफल गरेर छिट्टै टुङ्गो लगाउने बताउनुहुन्छ । हालसम्म केही निर्णय नगरिएको र आफूहरू छलफलमै रहेको बताउनु भएको छ । ‘हामीहरू यस विषयमा छलफलमै छौँ । छलफलपश्चात् के गर्ने भनेर टुङ्गो लगाउँछौँ ।