काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा सङ्घलाई निर्देशन दिनु भएको छ । आज सोमबार जुममार्फत एमाले निकट युवा सङ्घको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई रोक्न र छेक्न युवा सङ्घका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको हो । 
‘हामीमाथि चारैतिरबाट सर वर्षा भइरहेको छ । ती सर वर्षालाई भाँड्ने र छेक्ने काम गर्नुपर्छ । हामीसँग होला मिडिया हाउस स्थापना गरेका छैनौ, त्यो हाम्रो कमजोरी होला’ प्रधानमन्त्री ओलीको भनाइ छ ।  उहाँले चुनावका लागि भनेर सरकार घटिया काम नगर्ने भन्दै एउटा व्यक्ति जित्छ हार्छ भनेर सरकारले नहेर्ने बताउनुभएको हो । 
‘एउटा व्यक्ति कसले जित्छ हार्छ, सरकारले त्यो हेर्दैन, लोकतन्त्रलाई जिताउनुपर्छ भन्ने सरकारको काम हो त्यो मात्र हेर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।  उहाँले आफुहरु मिसन पत्रकारिता भइरहेको भन्दै त्यो घातक हुने बताउनुभयो । ‘हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौ । हामी मर्यादित पत्रकारिताको पक्षमा रहेका छौ’, प्रधानमन्त्रीको दावी थियो ।