लुम्बिनी – लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५ सय ४६ मतभारले हराउनु भएको हो । पाण्डेयले ४ हजार १ सय ४० मत ल्याएर अग्र हुनु भयो भने खड्काले ३ हजार ५ सय ९४ मत प्राप्त गर्नुभएको छ । काङ्ग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।
आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए । त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको थियो । २ सय ११ मतमध्ये पाण्डेयले १ सय १८ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार खड्काले ९३ मत ल्याएर पराजित हुनुभयो । प्रदेश सभाका ८३ मतमध्ये एक मत बदर भएको थियो । पाण्डेले ४२ मत र खड्काले ४० मत ल्याउनुभएको हो ।