लुम्बिनी –लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मतदान गरेका छन् । सोमबार भएको मतदानमा ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी हुनु भएन । उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गर्नु भएको थियो । यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ जानु भएको छ ।
गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी पर्नु भएको काठमाडौंमा उपचार गरिरहनु भएको छ । स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाको सबैले मत खसालेका छन् । मत हाल्न आउनेहरू सकिए पनि तीन बजेसम्म मतदानको समय भएकाले अधिकारीहरू कुरेर बसेका छन् । तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरू हुनेछ । मतपरिणाम आजै आउनेछ ।