काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले अहिलेको सङ्कटको समयमा नागरिकको स्वास्थ्य उपचारलगायत अधिकारहरु जोखिममा पर्न गएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । कास्की, मोरङ, झापालगायत जिल्लाहरुमा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरुको ज्यान गएको आयोगबाट गरिएको अनुगमनका क्रममा पाइएको जारी विज्ञप्तिमा जनाइएको छ । यस्तै, दम, मधुमेहलगायत अन्य दीर्घरोगीहरूले नियमित सेवन गर्नुपर्ने औषधिको अभाव देखिएको र व्यवसायीहरूले हालको मूल्यमा सिटामोल उत्पादन गर्न नसकिने बताएको जनाइएको छ ।
विज्ञप्तिमा प्रदेश नम्बर–१ का पहाडी जिल्लाहरुमा पीसीआर परीक्षणको व्यवस्था हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा आभाव देखिन थालेको साथै केही जिल्लाहरुमा निषेधाज्ञाको समय वा अन्य समयमा पसल खोल्दा प्रहरीबाट कानुनबमोजिम कारबाही नगरी निर्घात कुटपिट तथा दुर्व्यवहार गरेको गुनासो प्राप्त भएको उल्लेख छ । आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरहरुको सम्बोधन गर्न, नागरिकहरुमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न सरकारलाई आग्रह गरेको छ ।
यस्तै, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न र न्यून आर्जन भएका श्रमिक तथा ज्याला मजदुरी गरी जीवनयापन गर्ने वर्गहरुको पहिचान गरी उनीहरुको लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न÷गराउन पनि आग्रह गरिएको छ ।