काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले आगामी निर्वाचनपछि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले गरेको बजेटपछिको छलफलमा उहाँले निर्वाचनबाट एमाले ठूलो दल बन्ने र सरकार बनाउने दाबी गर्नु भएको हो । पौडलले निर्वाचनका कारण आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्या नहुने बताउनुभएको छ । बजेट कार्यान्वयनको पूर्ण जिम्मेवारी सरकारले लिने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राजनीतिक आधारमा बजेटमाथि गरिएको टिप्पणी विषयगत रूपमाभन्दा पनि बजेट आउनु हुँदैन भन्ने मात्र आएको बताउनुभयो । उहाँले बजेट शीर्षकगत रूपमा टिप्पणी गर्न राजनीतिक दलहरूलाई चुनौती दिनुभयो । स्वास्थ्य क्षेत्रप्रति जिम्मेवार भएर बजेट ल्याइएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ’कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट केन्द्रित छ । आमनागरिकलाई खोप उपलब्ध गराउन केन्द्रित छ,’ । नेपाल खोप उत्पादक देश नभएका कारण तत्काल उपलब्ध गराउन चुनौती रहेता पनि उत्पादक राष्ट्रहरूबाट खरिद गरी शीघ्र खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको जानकारी दिनुभयो ।