काठमाडौं– नेपाली काङ्ग्रेसले पाटीको १४ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने समस थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेको १ सय ६ स्थानका लागि पुनः म्याद थप गरिएको जनाएको छ । केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले यही जेठ २५ गतेसम्म क्रियाशीलको विवरण अपडेट गर्न र त्रुटि भएको भए तुरुन्त सच्याउन निर्देशन गरेको समितिका सचिव केशव रिजालले बताएका छन् ।

पटक–पटक सूचित गर्दा पनि क्रियाशील सदस्यता को विवरण प्राप्त नभएको भन्दै काङ्ग्रेसले गत १५ वैशाखदेखि क्रियाशील सदस्यताको विवरण इन्ट्री गर्ने सफ्टवेयर बन्द गरेको थियो । छानविन समितिले सो अवधिमा पूरा विवरण इन्ट्री गरिसकेका एक सय एक स्थानको नामावली वेबसाइटमा सार्वजनिक गरिसकेको छ ।

जसमध्ये ४५ जिल्लाका ८० स्थानको विवरण बैशाख ३० गते र १६ जिल्लाका २१ स्थानको विवरण अस्ति १५ गते शनिबार सार्वजनिक गरिसकेको छ । अहिलेसम्म करिब आठ लाख सदस्यको विवरण सफ्टवेयरमा इन्ट्री भै सकेकोले नामावली सार्वजनिक भइसकेका ठाउँबाट कसैको नाममा दाबी–विरोध वा उजुरी भए सम्पर्क गर्नसमेत छानविन समितिले आग्रह गरेको छ ।

काङग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्मका लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । यसअघि गत फागुन ७ गतेदेखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको थियो । तर त्यसबेला क्रियाशील सदस्यता सम्बन्धी विवाध र पार्टी भित्रको आन्नरितक किचलोले गर्दा महाधिवेशनको तिथि पर धकिलिंदै आएको हो । यद्यपि, अहिले पनि महाधिवेशनका लागि तल्लो तहका मतदाताका रूपमा रहेका क्रियाशील सदस्यताको अझै टुङ्गो लागेको छैन । केन्द्रीय समितिले यसअघि निर्धारण गरेको कार्यतालिकाअनुसार असार ५ गतेदेखि वडास्तरबाट अधिवेशन सुरु गर्नु पर्नेमा अन्योल नै कायम रहेको छ ।
देशमा कोरोना भाइरसको महामारीले गर्दा वडास्तरबाट अधिवेशन सुरुगर्ने काम प्रभावित भएको छ । यो परिस्थिति हेर्दा आगामी भदौंमा पनि महाधिवेशन नहुने पक्का भइसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण काङ्ग्रेसले महाधिवेशन तोकिएकै समयमा गर्ने वा सार्ने भन्नेबारे छलफलसमेत गर्न सक्ने अवस्था देखिंदैन । पार्टीको विधान बमोजिम पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि गत फागुन ६ गते बसेको केन्द्रीय समिति बैठकले विधानको विशेष व्यवस्थाको प्रयोग गर्दै विधान संशोधन गरेको ६ महिना म्याद थप गरेको थियो ।
सोहीअनुसार असार ५ मा वडा, असार ७ मा गाउँ र नगर, साउन १ मा प्रदेशसभा क्षेत्रीय, साउन ३ मा प्रतिनिधिसभा क्षेत्रीय र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्ला र साउन ६ मा एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेको थियो । साउन १० र ११ गते प्रदेश अधिवेशन र भदौको ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ । तर देशमा कोरोना भाइरसको महामारीको समस्या एकातिर छ भने अर्को तर्फ पार्टीको स्वयम स्थानीय समितिहरु नै राम्रोसँग क्रियाशील हुन सकेको अवस्थामा तोकिएको समयमा अधिवेशन गर्न सम्भव देखिंदैन ।