दाङ – लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्य पदका लागि आज उप–निर्वाचन हुँदैछ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा अहिले बिहान ९ बजेबाट मतदान सुरु गर्नेगरी व्यवस्था मिलाइसकिएकोे छ । उक्त मतदात दिउँसो ३ बजेसम्म हुनेछ । उक्त मतदानको नतिजा पनि आजै घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।
माओवादी केन्द्रका तात्कालिन नेता चन्द्रबहादुर खड्कालाई कारवाही गरेपछि आज उप–निर्वाचन हुन लागेको हो । सत्ता पक्षीय एमालेले आज हुने राष्ट्रियसभा सदस्यको उम्मेदवार तिनै चन्द्रबहादुर खड्कालाई बनाएको छ भने नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाले नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ ।
लुम्बिनी प्रदेशसभाका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्षसहित २ सय १७ जना गरी जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन् । निर्वाचनको अघिल्लो दिन निर्वाचन आयोगले मतदाता नामावलीमा जसपाले कारवाही गरेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डे चारजनाको नाम थपेको थियो । जसपाले कारवाही गरेका यी चारैजना प्रदेशसभा सदस्यलाई सर्वोच्च अदालतले केही दिन अघि पुनःपदस्थापन गर्ने निर्णय गरेको थियो । जनता समाजवादी पार्टीका यी चारैजना सदस्यले आज निर्वाचनमा मतदान गर्न पाउने छन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा तर्फ ७९ जना मतदाता कायम भएकोमा निर्वाचन आयोगको जेठ १६ गते बसेको बैठकले सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी, कल्पना पाण्डेको प्रदेशसभा सदस्यको नाम पुरक मतदाता नामावलीमा समावेश गरेको छ । तर गठबन्धन दले भने निर्वाचन आयोगले गरेको यो निर्णयको विरोध गरेको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ हुन्छ ।

आज हुनलागेको उप–निर्वाचनमा एमाले र गठबन्धनको उम्मेदवारको बिचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । जनता समाजजादी र स्वतन्त्रबाट स्थानीय तहको निर्वाचन जितेकाहरु नै निर्वाचन जिताउने आधार भएको ठान्दै दुवै पक्ष सोही मत तान्न लागिपरेका छन् । लुम्बिनी प्रदेशमा रहेका १ सय ९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली काङ्ग्रेस ६४, नेकपा माओवादी (केन्द्र) ३९, जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ३ जना रहेका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्यको कुल संख्या ८७ भएता पनि अहिले कायम रहेको सङ्ख्या भने जम्मा ८३ छ । नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९, माओवादी केन्द्र १९, जसपा महन्थ पक्ष ४, जसपा उपेन्द्र पक्ष २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । एमाले गठबन्धनमा ४२ जना सांसद छन् । विपक्षी गठबन्धनका ४१ छन् । त्यसैले कडा प्रतिस्पर्धा हुने राष्ट्रियसभा सदस्यको यो निर्वाचनमा कस्ले बाजिमार्ला भन्न सकिने अवस्था छैन । यद्यपि, एमालेबाट कारबाहीमा परेको खनाल–नेपाल समूहको भोटले गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डेलाई जानसक्ने देखिन्छ । त्यसो भएको खण्डमा पाण्डेले नै लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा जित्ने सम्भावना बलियो देखिएको छ ।