काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोनाभाइरसको सङ्क्रमण कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने निचोडमा बोर्ड पुगेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले वैकल्पिक विधिबाट एसईई गर्न अनुमति माग गरिसकिएको जानकारी दिनुभयो ।
उहाँले शिक्षा मन्त्रालयले एसईईबारे कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने बताउनुभयो । गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो । एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तालिका थियो । गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो । यसपटक पनि आन्तरिक मूल्याङ्कन वा वैकल्पिक विधिबाट नै एसईई लिने गरी बोर्डले तयारी गरेको छ ।