काठमाडौं – प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासँग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताउनुभएको छ । सम्बृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्बृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको बताउनु भएको छ । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । 
प्रधानमन्त्री ओलीले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताउनु भएको छ । ओलीले नेता माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो । ओलीले माधवकुमार नेपालहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो– ‘तीनले खाएको सपथ झुटो हो, तीनको सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ–कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ  । 
सम्माननीय राष्ट्रपति ज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल सङ्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भइरहेको छ । यो चिन्ताको विषय छ ।’उहाँले राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्कै उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली राजनीतिमा स्याडिस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गर्नुभयो । विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतन सँगै चेतना वृद्धिमा सहयोग पु¥याएको बताउनुभयो । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकाङ्क्षा प्रकट हुने अवस्थामा आएको उल्लेख गर्नुभयो ।