काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवलगायत नेता छलफलमा जुटेका हुन् । स्रोतकाअनुसार केहीबेर अगाडिदेखि छलफल सुरू भएको छ । 
काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन नेपाली काङ्ग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए । तर सरकारको सिफारिसमा राष्ट्रपतिले गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसद सर्वोच्चमा रिट लिएर गएका थिए । उक्त रिटबारे आज पनि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । विपक्षी गठबन्धनहरु अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न देउवा निवास छलफलमा जुटेका हुन् ।